Uncategorized

गोकर्णेश्वरमा ३ महिने सिलाई–कटाई तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउने

Mar 27, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा आनन्द गणेश महिला समूहद्वारा सञ्चालित “गोकर्णेश्वर मिशन रोजगारी कार्यक्रम” अन्तर्गत सिलाई–कटाई सम्बन्धी ३ महिने तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रम आनन्द गणेश महिला समूहकी अध्यक्ष उषा संग्रौलाको सभापतित्वमा तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रिसालले युवा तथा महिलाहरूलाई लक्षित गर्दै रोजगारी सिर्जना गर्न “मिशन ८४” अन्तर्गत सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सीप सिकेर आत्मनिर्भर बन्नु नै नगरपालिकाको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै, “सीप सिकेको प्रमाणपत्र घरमा होइन, पसलमा झुन्डिएको देख्न पाइयोस्” भन्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँका अनुसार हालसम्म १००० भन्दा बढी युवाहरूले विभिन्न किसिमका तालिम हासिल गरी स्वरोजगार तथा रोजगारीमा संलग्न भइसकेका छन् बताउनुभयो।

त्यसैगरी, विशेष अतिथि उपप्रमुख सान्नानी लामाले मिशन रोजगारी कार्यक्रम अन्तर्गत आनन्द गणेश महिला समूहलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई–कटाई सम्बन्धी ३ महिने तालिम प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले तालिमबाट सिकेका सीपहरूलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिँदै घरमै पुराना कपडाहरू प्रयोग गरेर अभ्यास गर्न आग्रह गर्नुभयो। साथै, आगामी दिनमा एडभान्स लेभलको तालिम पनि नगरपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभापति उषा संग्रौलाले सीपमूलक तालिम उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन तथा व्यवसायिक रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त तालिममा ३० जना महिलाहरू प्रशिक्षार्थीका रूपमा सहभागी रहेका थिए भने प्रशिक्षक शिवजला भण्डारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *