गोकर्णेश्वरमा दलित बालबालिकासँग आत्मीय संवाद, पौष्टिक खाना वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा स्थायी बसोबास गर्ने १० वर्ष मुनिका दलित बालबालिकासँग आत्मीय संवाद गर्ने उद्देश्यले आयोजित वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई विभिन्न ८ प्रकारका पौष्टिक खाना वितरण गरिएको थियो। कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य, पोषण र समग्र विकासमा ध्यान केन्द्रित गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मधु तामाङले बालबालिकाको स्वास्थ्य र पोषणप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले कसैलाई पनि पौष्टिक आहारको अभाव हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै कुपोषणमुक्त समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
साथै, बालबालिकाहरूमा कुनै समस्या देखिएमा वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
