Uncategorized

ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम सुरु

Mar 21, 2026

काठमाडौं। बौद्ध तीनचुलीस्थित ह्योल्मो गुम्बामा नेपाल ह्योल्मो महिला सङ्घको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना अभिवृद्धि कार्यक्रम को उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उप–प्रमुख सान्नानी लामाद्वारा सम्पन्न भएको छ।

१५ दिने उक्त कार्यक्रममा महिलाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिइनेछ। कार्यक्रममा महिला स्वास्थ्य तथा पोषण, ताइची प्रशिक्षण, GEDSI सचेतना कार्यशाला, संस्था सुदृढीकरण तालिम, नियमित व्यायाम तथा सन्तुलित खानपान सम्बन्धी सचेतना प्रदान गरिनुका साथै स्वास्थ्य परीक्षणसमेत गरिने आयोजकले जनाएको छ।कार्यक्रम अन्तर्गत महिलाहरूको पाठेघर तथा स्तन क्यान्सरको जाँच, रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) परीक्षणसमेत गरिने जानकारी दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख लामाले महिलाहरूले प्रायः आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै घरायसी तथा अन्य काममा मात्र ध्यान दिने गरेको बताउनुभयो।

उहाँले महिलाहरूले समयमै स्वास्थ्य जाँच गराउनुका साथै आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आदिवासी महिलाहरू सोझो स्वभावका हुने भएकाले अरूले भनेको कुरा सहजै स्वीकार गर्ने र सही–गलत छुट्याउन नसक्ने अवस्थाका कारण उनीहरू पछाडि परेको उल्लेख गर्नुभयो।

त्यसैले यस्ता कार्यक्रममार्फत महिलाहरूमा स्वास्थ्यसम्बन्धी सचेतना अझै प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। उहाँले यस कार्यक्रमले महिलाहरूमा जागरूकता वृद्धि गर्दै उनीहरूको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि लगायत ह्योल्मो महिला सङ्घका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *