हिमशृङ्खाला एकेडेमीको STEAM & Science Expo भव्य रूपमा सम्पन्न

काठमाडौं, गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिका वडा नं. २, नयाँपाटीस्थित हिमशृङ्खाला एकेडेमीद्वारा आयोजित बृहत् STEAM & Science Expo कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बुधबार आयोजित उक्त प्रदर्शनीमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले आफ्नै सोच, सिर्जना र मेहनतका आधारमा तयार पारेका परियोजनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। एक्स्पोमा विद्यार्थीहरूले ३८ वटा विभिन्न स्टलमार्फत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) का विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा फरक–फरक यान्त्रिक मोडल तथा विभिन्न विषयमा आधारित प्रायोगिक सिकाइका आकर्षक प्रस्तुति प्रदर्शन गरिएको थियो। विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी तथा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकसहित करिब १५०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा आधुनिक शहरको नमूना निर्माण, स्वचालित कोक्रो, मानव निर्मित रोबोट, WiFi Car, Traffic Light System, Water Tank Siren System, Smart Parking, Flood Alarm, Gas Detector, Drone निर्माण, रकेट (Rocket), Hydraulic Bridge, जलविद्युत, Wind Power लगायतका प्रविधिमूलक आविष्कारहरू प्रदर्शन गरिएका थिए। साथै मानव शरीरसँग सम्बन्धित Heart, Kidney, Brain का मोडलहरू, विभिन्न गेम मेसिन, ATM Machine, कृषि परियोजना, मौसम विज्ञानका प्रयोगात्मक सामग्री तथा अन्य नवीन प्रविधिहरूले पनि सबैको ध्यान आकर्षित गरेका थिए।

कार्यक्रममा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक सामग्रीहरू पनि समावेश गरिएका थिए। भूकम्प, बाढी, आगलागी जस्ता विपद्बाट पूर्व जानकारी प्राप्त गर्ने तरिका तथा सुरक्षित रहने उपायबारे विद्यार्थीहरूले महत्वपूर्ण ज्ञान हासिल गरेका थिए, जुन उनीहरूको दैनन्दिन जीवनमा उपयोगी हुने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले प्रविधि, सीप, खेल तथा मनोरञ्जनसँगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुशी व्यक्त गरेका थिए। त्यस्तै, विभिन्न विद्यालयका शिक्षकहरूले अवलोकनका क्रममा हिमशृङ्खाला एकेडेमीले विद्यार्थीहरूको समग्र विकासका लागि प्रविधि–आधारित सिकाइ, परियोजना–आधारित शिक्षण तथा आध्यात्मिकता समेटिएको शिक्षा प्रणाली अवलम्बन गरेको प्रशंसा गरेका थिए।

विद्यालयले विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गर्दै दक्ष, जिम्मेवार तथा समाजपरिवर्तनकारी व्यक्तित्व विकास गर्ने आफ्नो लक्ष्य रहेको जनाएको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अभिभावकहरू, शिक्षक–शिक्षिका तथा प्रतिभाशाली विद्यार्थीहरूप्रति विद्यालयले हार्दिक आभार व्यक्त गरेको छ। यस प्रकारका एक्स्पोहरूले विद्यालयको सीमाभन्दा बाहिर गएर भविष्यका वैज्ञानिक, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरू तयार पार्ने आधार निर्माण गरिरहेका छन्। व्यवहारिक, सीपमूलक तथा प्रविधिमैत्री शिक्षाको युगमा हिमशृङ्खाला एकेडेमीको यो पहल अनुकरणीय र प्रेरणादायी बनेको छ।
