Uncategorized

९०० भन्दा बढी यान्त्रिक मोडलसहित गोकर्णेश्वर लाइट एकेडेमीको बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न

Feb 28, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित गोकर्णेश्वर लाइट एकेडेमी द्वारा आयोजित बृहत् शैक्षिक प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार आयोजित उक्त प्रदर्शनीमा करिब ९०० भन्दा बढी फरक–फरक यान्त्रिक मोडलहरू तथा विभिन्न विषयहरूको प्रायोगिक सिकाइसँग सम्बन्धित आकर्षक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी तथा अन्य विद्यालयका विद्यार्थी र शिक्षकहरूको करिब ३,००० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा WiFi Car, Traffic Light System, Robot, Water Tank Siren System, विभिन्न गेम मेसिन, ATM Machine, पानी हाल्ने मेसिन लगायतका प्रविधिमूलक उपकरणहरू प्रदर्शन गरिएका थिए। साथै धार्मिक तथा सांस्कृतिक झाँकी, भौगोलिक नमूना, कृषि सम्बन्धी परियोजना, मौसम विज्ञानका प्रयोगात्मक सामग्री तथा अन्य नवीन आविष्कारहरूले प्रदर्शनीलाई थप आकर्षक बनाएका थिए।

विद्यार्थीहरूले विभिन्न परिकारका खानाहरू तयार गरी प्रदर्शनमा राखेका थिए, जसले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। कार्यक्रममा निर्वाचन प्रक्रियाबारे जानकारी दिने सन्दर्भमा नमूना मतदान (डेमो भोटिङ) समेत गरिएको थियो, जसबाट सहभागीहरूले मतदान कसरी गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, वडा अध्यक्ष नन्दलाल श्रेष्ठ तथा वडा सदस्य सुमन लामा लगायतको उपस्थिति रहेको थियो।

उहाँहरूले विद्यालयले विद्यार्थीहरूको प्रविधि, सीप, खेल तथा मनोरञ्जनसँगै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोप्रति खुसी व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले शिक्षकहरू, सहयोगी अभिभावकहरू तथा प्रतिभाशाली विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। विद्यालयको विश्वास छ कि यस्ता कार्यक्रमहरूले विचारक, सिर्जनाकर्ता, आविष्कारक र दयालु नेतृत्वकर्ताको नयाँ पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

विद्यालयले विद्यार्थीहरूको क्षमताको पूर्ण विकासका लागि प्रविधि–आधारित सिकाइ, परियोजना–आधारित शिक्षण तथा आध्यात्मिकता समेटिएको शिक्षा प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ। विद्यालयको दृष्टि विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गर्दै दक्ष, जिम्मेवार र समाजपरिवर्तनकारी व्यक्तित्व विकास गर्नु रहेको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *