Uncategorized

गोकर्णेश्वर–८ मा ७ दिने सेल्फ मेकअप तालिम समापन

Feb 21, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा, गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा नमस्ते महिला समूहद्वारा सञ्चालित ७ दिने सेल्फ मेकअप तालिम भव्य रूपमा समापन भएको छ। कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा तथा नमस्ते महिला समूहकी अध्यक्ष निर्मला बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो।

तालिममा सहभागी महिलाहरूले आधारभूतदेखि व्यावसायिक स्तरसम्मका सेल्फ मेकअप सीपहरू सिकेका थिए। आयोजकले तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउनु र सीपमार्फत आयआर्जनको सम्भावना वृद्धि गर्नु रहेको जानकारी दिएका छन्।

उपप्रमुख लामा कार्यक्रममा बोल्दै महिलाहरूले आफ्नै सौन्दर्य र आत्मविश्वास विकासका लागि विभिन्न मेकअप प्रविधि र सीपहरू सिक्न सफल भएको बताए। उनले भविष्यमा यी सीपहरू आयआर्जन र रोजगारमा प्रयोग गरिने विश्वास व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा वडाध्यक्ष नन्दलाल श्रेष्ठ ले सेल्फ मेकअपले आफैंलाई मात्र होइन, अरूलाई पनि सुन्दर बनाउने महत्वको चर्चा गर्दै, सिकेको ज्ञान बाँड्न र समुदायमा आत्मनिर्भरता वृद्धि गर्न आग्रह गर्नुभयो।

तालिमका प्रशिक्षक निकिता तामाङ ले ३० जना प्रशिक्षार्थीलाई व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुभयो। सहभागीहरूले तालिमले आत्मविश्वास वृद्धि गरेको र भविष्यमा सिकेको सीप आयआर्जन र स्वरोजगारमा प्रयोग हुने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका सभापतिले सहभागीहरू, प्रशिक्षक तथा गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।

तालिममा सहभागी महिला सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो र यसले उनीहरूको सृजनात्मक क्षमता र आत्मनिर्भरता बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा सदस्य सुमन लामा र सीता तिमालसिना, विभिन्न संघ–संस्था प्रतिनिधि, महिला समूहका अध्यक्ष, समाजसेवी तथा अन्य महिला सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *