Uncategorized

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा राम जानकी महिला समूहद्वारा सञ्चालित १० दिने भाषणकला तालिम सम्पन्न

Jan 30, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, नयाँ बस्तीस्थित राम जानकी महिला समूहद्वारा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको १० दिने भाषणकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राम जानकी महिला समूहकी अध्यक्ष टीका देवी कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख सान्नानी लामाले सहभागी महिलाहरूको आत्मविश्वास अभिवृद्धि, सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार तालिम अवधिभर सहभागी महिलाहरूले भाषणकला, अभिव्यक्ति कला, प्रस्तुति शैली तथा सञ्चार सीपसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्। उहाँले महिलाहरूको प्रभावकारी क्षमता विकासमा यस्ता सिपमूलक तालिमहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आगामी दिनमा पनि महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष नवराज लामाले यसअघि सार्वजनिक रूपमा बोल्न हिच्किचाउने महिलाहरूमा तालिमले उल्लेखनीय परिवर्तन ल्याएको बताउनुभयो। तालिमले सहभागी महिलाहरूको बोल्ने क्षमता विकास गर्नुका साथै आत्मविश्वास बढाएको उल्लेख गर्दै उहाँले यसले महिलाहरूलाई समाजमा अझ सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको प्रतिक्रिया व्यक्त गर्नुभयो।

कार्यक्रमकी विशेष अतिथि पूर्व सांसद शान्ति श्रेष्ठले भाषणकला तालिम लिएका महिला दिदीबहिनीहरूका लागि यो खुसीको अवसर भएको बताउनुभयो। उहाँले आफ्नो समयको तुलनामा अहिले स्थानीय तहबाट यस्ता उपयोगी तालिमहरू सञ्चालन हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै भाषणकला तालिमले महिलाहरूको बोल्ने क्षमता विकास गर्नुका साथै आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले बोल्ने क्षमतामा सकारात्मक परिवर्तन आएको अनुभूति व्यक्त गर्दै प्राप्त सीपलाई अझ तिखार्न आगामी दिनमा थप उन्नत तालिमको आवश्यकता रहेको माग गरेका छन्। १० दिने भाषणकला तालिममा ५१ जना महिला सहभागी रहेका थिए। सहभागी प्रशिक्षार्थीहरूलाई दिपक लामिछानेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।समापन कार्यक्रममा सहभागीहरूलाई अतिथिहरूबाट प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकलाई सभापतिबाट सम्मान पत्र प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *