गोकर्णेश्वरमा मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सञ्चालन भई आज गोकर्णेश्वर नगरपालिका वडा नं. ७ स्थित आकाशदीप इङ्लिस स्कुलमा अन्तिम चरणका रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको अध्यक्षता तथा नगरप्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरिएको हो।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. १ का वडा सदस्य एवं न्यायिक समितिका सदस्य केशव सिंखडाले राख्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपक कुमार रिसालले युवाहरूलाई लागू औषधले दिमागको विकास, ध्यान केन्द्रित गर्ने क्षमता तथा निर्णय लिने क्षमतामा गम्भीर असर पार्ने बताउँदै यसको सेवनबाट टाढा रहन आग्रह गर्नुभयो।

हाँका अनुसार लागू औषध दुर्व्यसनले स्वास्थ्य मात्र होइन, शिक्षा, परिवार तथा भविष्यको रोजगारीसमेत जोखिममा पार्ने खतरा हुन्छ। साथै, मौलिक हक, अधिकार र कर्तव्यबारे ज्ञान युवाहरूका लागि अनिवार्य भएको उल्लेख गर्दै आफ्नो अधिकारसँगै कर्तव्य बुझ्न सके मात्र जिम्मेवार नागरिक बन्न सकिने र गलत बाटोबाट जोगिन सकिने धारणा व्यक्त गर्नुभयो।

अध्यक्षता गर्दै उपप्रमुख सान्नानी लामाले मौलिक हक जीवनभर लागू हुने नागरिकका आधारभूत अधिकार भएको बताउँदै बालबालिकाको हक त्यसको महत्वपूर्ण अंग भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार शिक्षा, स्वास्थ्य, संरक्षण र प्रतिभा विकास बालअधिकारका मूल आधार हुन्। बालबालिका देशको वर्तमान र भविष्य दुवै भएको उल्लेख गर्दै उहाँले सही संरक्षण, राम्रो सिकाइ वातावरण र अनुशासनयुक्त व्यवहारले मात्र उज्यालो भोलि सम्भव हुनेमा जोड दिनुभयो।

उपप्रमुख लामाले गलत साथी, सामाजिक दबाब तथा उत्सुकताका कारण युवाहरू लागू औषधतर्फ आकर्षित भइरहेकोमा चिन्ता व्यक्त गर्दै ‘soft drugs’ समेत दीर्घकालीन रूपमा हानिकारक हुने बताउनुभयो। लागू औषध दुर्व्यसन रोकथामका लागि विद्यालयस्तरमै सचेतना, परामर्श तथा जिम्मेवार वातावरण आवश्यक रहेको उल्लेख गर्दै युवाहरू स्वयंले पनि आफ्नो भविष्यको कदर गर्दै गलत बाटोबाट टाढा रहने प्रतिबद्धता आवश्यक रहेको उहाँले औँल्याउनुभयो। साथै, यस कार्यक्रमबाट प्राप्त सचेतनामूलक सन्देश बुबा–आमा, घरपरिवार, टोलछिमेक, साथीभाइ तथा भाइबहिनीहरूलाई समेत जानकारी गराउन आग्रह गर्नुभयो।

विद्यालयको सामाजिक शिक्षा पाठ्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रम प्रभावकारी रहेको विद्यालय पक्षले जनाएको छ। यस कदमले विद्यार्थीहरूमा मौलिक अधिकार, बालअधिकार तथा लागू औषधका जोखिमबारे गहिरो बुझाइ विकास हुने विश्वास गरिएको छ।

कार्यक्रममा अधिवक्ता गोपालप्रसाद भण्डारीले बालबालिकाको मौलिक हक ऐनसम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो भने बौद्ध वृत्त प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीले लागू औषधसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि, शिक्षक–शिक्षिका, प्रहरी तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अनिता बिष्टले गर्नुभएको थियो।
