‘हाम्रो प्रहरी अभियान’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका सम्मानित

काठमाडौँ जिल्लामा सञ्चालित ‘हाम्रो प्रहरी अभियान’ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा नगरपालिकालाई सम्मान गरिएको छ।जेन्जी आन्दोलनका क्रममा तहस–नहस भएका गोकर्णेश्वर नगरपालिकाभित्रका ७ वटा प्रहरी चौकी स्थानीयवासी र नगरपालिकाको सहकार्यमा मात्र १५ दिनभित्र पुनःनिर्माण गरिएको थियो। आन्दोलनका क्रममा प्रहरी चौकीका सवारी साधन जलेपछि नगरपालिकाले प्रत्येक प्रहरी चौकीलाई ७ वटा मोटरसाइकल उपलब्ध गराएको छ। साथै, विभिन्न समयमा कम्प्युटरलगायत आवश्यक सामग्रीहरू समेत प्रहरी चौकीहरूलाई प्रदान गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धको भवन जलेपछि नगरपालिकाले जोरपाटी–नारायणटारस्थित १ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बंगलामा ट्राफिक प्रहरीलाई अस्थायी रूपमा व्यवस्थापन गरेको थियो। ट्राफिक प्रहरीका लागि १ वटा मोटरसाइकलसमेत उपलब्ध गराइएको छ।

सडक व्यवस्थापन तथा सुरक्षालाई थप प्रभावकारी बनाउन नगरपालिकाले सडक डिभाइडर, मापसे चेकिङ मेसिन, ह्विल लक, लाइटलगायत करिब १० लाख रुपैयाँ बराबरका सामग्री ट्राफिक प्रहरीलाई प्रदान गरेको छ। साथै, सडक दुर्घटना न्यूनीकरण तथा यातायात सुरक्षाका लागि नगरपालिकाले ४ स्थानमा करिब ५० लाख रुपैयाँ लागतका ट्राफिक लाइट जडान गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो। उक्त ट्राफिक लाइटको उद्घाटन हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गर्नुभएको थियो।त्यसैगरी, महानगरीय प्रहरी वृत्त बौद्धको पुनःनिर्माणका लागि गोकर्णेश्वर नगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

काठमाडौँ जिल्लाका ११ वटा नगरपालिकामध्ये उल्लेखनीय योगदान पु¥याउने स्थानीय तहको रूपमा गोकर्णेश्वर नगरपालिकालाई जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी अभियान’ मा सम्मान गरिएको हो।

