नारायणटार पिपलबोटमा यात्रु सुविधाका लागि फल्चा निर्माण सुरु

गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार पिपलबोट क्षेत्रमा यात्रुहरूको सहजताका लागि फल्चा निर्माण कार्य सुरु गरिएको छ। वडा अध्यक्ष नवराज लामाले आज आयोजित एक कार्यक्रमबीच उक्त फल्चाको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।वडा कार्यालय र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यस फल्चाले यात्रुहरूलाई विश्राम, प्रतिक्षा तथा वर्षा–घामबाट जोगिने सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले सार्वजनिक स्थानको संरक्षण र सदुपयोग गर्दै नागरिकमैत्री पूर्वाधार निर्माणलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँका अनुसार वडा नं. ६ भित्र विभिन्न सार्वजनिक स्थलहरूमा फल्चा, पार्कलगायतका संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यस्ता पूर्वाधारहरूले सार्वजनिक स्थानको व्यवस्थित व्यवस्थापनसँगै नागरिकको दैनिक जीवनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले फल्चा निर्माणलाई सकारात्मक रूपमा लिँदै वडाको विकास तथा यात्रु सुविधाका लागि यो महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन्। उक्त शिलान्यास कार्यक्रममा वडा सदस्यहरू मञ्जु पुडासैनी, बच्चु राम कुइकेल, प्रेमबहादुर खड्कालगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
