Uncategorized

ह्योल्मो महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम सम्पन्न

Apr 5, 2026

काठमाडौं। बौद्ध तीनचुलीस्थित ह्योल्मो गुम्बामा नेपाल ह्योल्मो महिला सङ्घ को आयोजना तथा गोकर्णेश्वर नगरपालिका को आर्थिक सहयोगमा सञ्चालित “ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना अभिवृद्धि कार्यक्रम” सम्पन्न भएको छ। १५ दिने उक्त कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उप–प्रमुख सान्नानी लामा द्वारा गरिएको थियो भने समापन पनि उहाँकै उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा महिलाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिइएको थियो। सहभागी महिलाहरूलाई महिला स्वास्थ्य तथा पोषण, ताइची प्रशिक्षण, GEDSI (Gender Equality, Disability and Social Inclusion) सचेतना कार्यशाला, संस्था सुदृढीकरण तालिम, नियमित व्यायाम तथा सन्तुलित खानपान सम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, स्वास्थ्य परीक्षणअन्तर्गत पाठेघर तथा स्तन क्यान्सर जाँच, रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) परीक्षणसमेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख लामाले स्वस्थ जीवनयापनका लागि सन्तुलित खानपान र नियमित व्यायाम अपरिहार्य रहेको बताउनुभयो।

महिलाहरूले प्रायः आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै घरायसी तथा अन्य काममा मात्र ध्यान दिने प्रवृत्ति रहेको उल्लेख गर्दै समयमै स्वास्थ्य जाँच गराउन र शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले लैङ्गिक हिंसा समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। साथै, यस्ता कार्यक्रममार्फत महिलाहरूमा स्वास्थ्यसम्बन्धी सचेतना अझ प्रभावकारी रूपमा अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा विशेष अतिथि वडा अध्यक्ष राजीव थापा ले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले महिला स्वास्थ्य, पोषण, मानसिक तथा शारीरिक सन्तुलनका लागि ताइची अभ्यास तथा लैङ्गिक समानता र समावेशीकरणबारे जनचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी भएको बताउनुभयो।

उहाँले भाषा हराएसँगै समुदायको पहिचान, परम्परा र मूल्य–मान्यता समेत हराउने भएकाले यसको संरक्षण अत्यन्त आवश्यक रहेको बताउनुभयो। विशेषगरी ह्योल्मो जाति ले आफ्ना भाषा, धर्म र संस्कारलाई संरक्षण गर्दै आएको उल्लेख गर्दै यसलाई अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

कार्यक्रमअन्तर्गत तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि तथा ह्योल्मो महिला सङ्घका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *