गोकर्णेश्वरमा नेवार समुदायले बाजागाजासहित होली मनाए

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नेवार समुदायले परम्परादेखि चल्दै आएको रीतिरिवाजअनुसार विभिन्न टोल गुठी समूहको आयोजनामा परम्परागत बाजागाजा तथा नेवारी पोशाकमा सजिएर गोकर्णेश्वरको ऐतिहासिक देशे गाउँमा विशेष पूजा गरी होली पर्व उल्लासपूर्ण रूपमा मनाएका छन्।

परम्परागत बाजागाजा र गीत–भजन गाउँदै सहभागीहरू देशे गाउँमा भेला भई आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। धार्मिक विधिअनुसार पूजा सम्पन्न गरेपछि सामूहिक रूपमा रङ्गीन अबिर र रङ्ग लगाउँदै तथा पानी छ्याप्ने ‘लोला’ हानेर एकआपसमा होली खेलेका थिए।

यस अवसरमा सामूहिक भोजको समेत आयोजना गरिएको थियो। उक्त भोजमार्फत आपसी सद्भाव, भाइचारा र सामुदायिक एकता सुदृढ भएको बताएका छन्।

यसले नेवार समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ। भोजपश्चात् सहभागीहरू बाजागाजासहित हर्षोल्लासका साथ आफ्ना घरतर्फ फर्किएका थिए।
