Uncategorized

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (NISAN) द्वारा सामूहिक बाल नृत्य प्रतियोगिता सम्पन्न

Feb 23, 2026

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (NISAN) को आयोजनामा NISAN Primary Level Dance Competition अन्तर्गत प्रथम “निशान” सामूहिक बाल नृत्य प्रतियोगिता भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।काठमाडौंभरका संस्थागत विद्यालयहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २९ वटा विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी बालबालिकाहरूले विभिन्न सांस्कृतिक, लोक तथा आधुनिक नृत्य प्रस्तुत गर्दै आफ्नो कला, सृजनशीलता र आत्मविश्वास प्रदर्शन गरेका थिए। रंगीन पोशाक, आकर्षक ताल–लय र समूहगत समन्वयले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

अभिभावक, शिक्षक तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा बालबालिकाको प्रस्तुति प्रति दर्शकहरूले बारम्बार ताली बजाउँदै हौसला प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी समूहहरूको प्रस्तुति निर्णायक मण्डलले कला प्रस्तुति, तालमेल, पोशाक, सन्देश प्रवाह, मौलिकता तथा समग्र प्रभावका आधारमा मूल्याङ्कन गरेका थिए। बालबालिकाको कला, मनोबल तथा प्रतिभालाई निर्णायकहरूले प्रदान गरेको अंकका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण शिक्षा प्रथम स्थान हासिल गर्न सफल भयो। उक्त विद्यालयको प्रस्तुति सन्देशमूलक, सशक्त तथा अनुशासित रहेको भन्दै निर्णायकहरूले प्रशंसा गरेका थिए। त्यसैगरी बाल संसार स्कुल द्वितीय स्थानमा रहँदै उत्कृष्ट समन्वय र आकर्षक प्रस्तुति प्रस्तुत गरेको थियो भने गोकर्णेश्वर महादेव स्कुल तृतीय स्थान हासिल गर्न सफल भयो। विजेता विद्यालयहरूलाई क्रमशः नगद रु. १०,०००, रु. ७,००० र रु. ५,००० का साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रमले बालबालिकामा लुकेका प्रतिभा उजागर गर्नुका साथै सांस्कृतिक गतिविधिप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, समूहगत सहकार्य र सिर्जनात्मक सोचको विकास गर्न सहयोग पुर्‍याउनेछ।संस्थाले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *