आकाश दीप स्कुलमा ‘सिङ्गिङ डान्सिङ आइडल २०८२

गोकर्णेश्वर नगरपालिका वडा नं. ७, दक्षिणढोका स्थित आकाश दीप स्कुल मा वार्षिक पुरस्कार वितरण तथा सिङ्गिङ डान्सिङ आइडल २०८२ कार्यक्रम गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्ननी लामा को प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्षभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै गायन र नृत्य प्रतिभा प्रदर्शनका लागि आयोजित “सिङ्गिङ डान्सिङ आइडल” प्रतियोगिताले कार्यक्रमलाई अझै रोमाञ्चक र आकर्षक बनाएको थियो।

विद्यार्थीहरूले आफ्नो कला, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गर्दै उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूको मन जित्न सफल भए।

प्रमुख अतिथि उपप्रमुख सान्ननी लामाले आकाश दीप स्कुलले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र नभई विभिन्न प्रतिभा, सीप र संस्कार सिकाउने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

विद्यालय भनेको एउटा स्वच्छ मन्दिर जस्तै पवित्र थलो भएको बताउँदै उहाँले ज्ञानसँगै चरित्र निर्माण पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। विद्यार्थीहरूले कक्षाकोठामा मात्र होइन, गायन, नृत्य, खेलकुद, वक्तृत्व, चित्रकला लगायत विविध प्रतिभामा सहभागी हुन पाउनुपर्नेमा जोड दिँदै अबको शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा मात्र सीमित नरही व्यावहारिक, सीपमूलक तथा संस्कारयुक्त शिक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो।

यसै सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले समयानुकूल शिक्षा नीति निर्माण गरी विद्यार्थीहरूलाई जीवनोपयोगी सीप र नैतिक मूल्यसँग जोड्ने प्रयास गरिरहेको जानकारी पनि दिनुभयो।कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ।

यस्ता रचनात्मक कार्यक्रमहरूले बालबालिकामा अनुशासन, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा सदस्य गंगा बहादुर खड्का, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
