गोकर्णेश्वर–८ बेसीगाउँमा क्षयरोग (TB) खकार नमुना संकलन तथा परीक्षण अभियान

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रले क्षयरोग (TB) नियन्त्रण तथा प्रारम्भिक पहिचानलाई थप प्रभावकारी बनाउन वडा भित्रका विभिन्न टोल, बस्ती तथा गलैँचे क्षेत्रहरूमा पुगेर खकार नमुना संकलन तथा परीक्षण सेवा सञ्चालन गरेको छ।

क्षयरोगको जोखिमयुक्त मानिएका समुदायलाई लक्षित गर्दै केन्द्रका स्वास्थ्यकर्मीहरूको टोली घर–घर तथा टोल–टोलमा पुगेर दैनिक स्वास्थ्य सेवाबाट वञ्चित तथा परीक्षणमा आउन नसक्ने व्यक्तिहरूको खकार नमुना संकलन गरेको हो। संकलित नमुनाको GeneXpert तथा Microscopy विधिबाट निःशुल्क परीक्षण गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

कार्यक्रममार्फत फोक्सोसम्बन्धी समस्या, सामान्यभन्दा बढी खोकी लाग्ने, राति अत्यधिक पसिना आउने, तौल घट्ने तथा रगत मिसिएको खकार आउने जस्ता लक्षण देखिएका व्यक्तिहरूलाई विशेष प्राथमिकताका साथ परीक्षणमा समेटिएको थियो। साथै स्वास्थ्यकर्मीहरूले क्षयरोगसम्बन्धी चेतनामूलक जानकारी प्रदान गर्दै रोगका लक्षण, बच्ने उपाय तथा समयमै परीक्षण र उपचारको महत्वबारे जानकारी गराएका थिए। बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रका अनुसार यस प्रकारको सामुदायिक पहुँच सेवाले क्षयरोगलाई प्रारम्भिक चरणमै पहिचान गर्न, समयमै उपचार सुरू गर्न सहयोग पुर्याउने तथा समुदायमा TB फैलिन सक्ने जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
