आनन्द गणेश महिला समूहद्वारा सोनम लोसार सांस्कृतिक कार्यक्रम सम्पन्न”

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनम लोसार–मञ्जुश्री संवाद २८६२ का अवसरमा गोकर्णेश्वर नगरपालिकाको सहयोग र आनन्द गणेश महिला समूहद्वारा आयोजित सोनम लोसार सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम उषा संग्रौलाको अध्यक्षतामा र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विभिन्न जातीय समुदायका सहभागीहरूले तामाङ परम्परागत पहिरन तथा टोपी लगाएर सांस्कृतिक पहिचान झल्काएका थिए।

कलाकारहरूले तामाङ सेलोमा आधारित सांगीतिक नृत्य प्रस्तुत गरेका साथै मनमोहक गीत र कविता वाचन गरेका थिए।

आनन्द गणेश महिला समूहका सल्लाहकार याङ माया योन्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथिले लोसार पर्व सांस्कृतिक तथा शुभकामना आदान–प्रदान गर्ने, नाच–गानसहित रमाइलो रूपमा मनाइने पर्व भएको उल्लेख गर्दै माजमा बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक पहिचानलाई आत्मसात गर्दै सबै जातजातिका चाडपर्व सम्मानपूर्वक मनाउने नेपाली परम्परा रहेको बताउनुभयो।उहाँले आपसी सद्भावका साथ रमाइलो गर्न सबैलाई जोड दिनुभयो।

वडा अध्यक्ष नन्दलाल श्रेष्ठले लोसारको शुभकामना दिँदै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आनन्द लिन सबैलाई आग्रह गर्नुभयो। उहाँले वडा भित्रका विभिन्न जातजातिका समुदायका व्यक्तिहरू एकत्रित भएर तामाङ परम्परागत पहिरनमा सजिएका दृश्य देख्दा खुसी लागेको बताउनुभयो र आनन्द समूहलाई धन्यवाद दिनुभयो। साथै, आफ्नो परम्परागत धर्म, संस्कृति, पर्व र पहिचान संरक्षणका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा सदस्य सुमन लामाले लोसारबारे छोटो जानकारी दिँदै वडा नं ८ भित्र विभिन्न जाति, धर्म र सांस्कृतिक समुदायका मानिसहरू शान्तिपूर्ण रूपमा बस्ने र सबै मिलेर पर्व मनाउने कुरा उल्लेख गर्नुभयो। उहाँले सबैले तामाङ परम्परागत पहिरन लगाएर लोसार उत्सव मनाएको देखेर खुशी व्यक्त गर्नुभयो। यस कार्यक्रमले विभिन्न जातजातिलाई एकअर्काका सांस्कृतिक र धार्मिक परम्पराहरू बुझ्न र सिक्न अवसर प्रदान गरेको उहाँले बताउनुभयो।

सभापति उषा संग्रौलाले सम्पूर्ण उपस्थितिलाई धन्यवाद दिँदै भन्नुभयो, “म बाहुन जातकी हुँ, तर यहाँ सबैले तामाङ परम्परागत पहिरन र टोपी लगाएर आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गरेका छन्। यसले सबै जात, धर्म, भाषा र सांस्कृतिक समुदायलाई समेट्दै हामी एकजुट हौं भन्ने सन्देश दिन्छ। यस कार्यक्रममा विभिन्न सांस्कृतिक परम्पराहरू बुझ्ने र सिक्ने अवसर पाएको महसुस गरिरहेकी छु बताउनुभयो।

कार्यक्रममा विभिन्न संघ–संस्था, महिला समूहका प्रतिनिधि र समाजसेवीहरू समेत उपस्थित थिए।
