मिसन रोजगार कार्यक्रमअन्तर्गत कपाल काट्ने तालिम सम्पन्न, प्रशिक्षार्थीहरूले एडभान्स सीप सिक्ने चाहना व्यक्त

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९, आरुबारीस्थित गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा र वडा नम्बर ९ को समन्वयमा नेपाल सक्रिय तथा सृजनशील युवा समूहद्वारा आयोजित मिसन रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको सिपमूलक कपाल काट्ने तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व रोशन खड्काले गर्नुभएको थियो भने नगर प्रमुख दिपक कुमार रिसाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष राजीव थापा लगायत अन्य अतिथिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति रोशन खड्काले गोकर्णेश्वर नगरपालिका भित्रका युवाहरूलाई लक्षित गर्दै विभिन्न सिपमूलक तालिमहरू प्रदान गरिँदै आएको उल्लेख गर्नुभयो। युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिएको भन्दै उहाँले नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले अरूले मिसन ८४ सञ्चालन गरिरहेको सन्दर्भमा गोकर्णेश्वर नगरपालिकाले भने मिसन रोजगार कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो। यस कार्यक्रममार्फत हाल करिब १ हजार जना युवाहरू विभिन्न सिपमूलक तालिमहरूमा संलग्न भई सीप हासिल गरिरहेका जानकारी दिनुभयो।

उहाँका अनुसार “सबै युवाका हात–हातमा सीप होस्” भन्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको हो भने विभिन्न सिपमूलक तालिमबाट करिब ८० प्रतिशत सहभागीहरूले रोजगारी प्राप्त गरिसकेका छन्।

त्यसैगरी वडा अध्यक्ष राजीव थापाले नगरपालिकाभित्रका युवाहरूलाई मिसन रोजगार कार्यक्रमअन्तर्गत सिपमूलक विकास गर्दै आय–आर्जनतर्फ अग्रसर गरिँदै आएको बताउनुभयो।

उहाँले अहिलेको परिवेशमा सीपसँग सम्बन्धित विभिन्न रोजगारीका अवसरहरू उपलब्ध भए पनि आवश्यक दक्षता नहुँदा धेरै युवाहरू रोजगारीबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो। यसै कारण युवाहरूलाई सिपमूलक तालिम लिन आग्रह गर्दै आवश्यक परेमा वडा स्तरबाट सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले आधारभूत सीपसँगै अझ उन्नत (एडभान्स) सीपहरू सिक्नका लागि तालिमको अवधि थप गर्न आग्रह गरेका छन्। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, महिला समूहका प्रतिनिधि, प्रशिक्षार्थीहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
