गोकर्णेश्वर नगरपालिका वडा नं. ८ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच दीर्घकालीन स्वास्थ्य सेवा सहकार्य सम्झौता

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच वडावासीलाई सहज, सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ दीर्घकालीन सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। वडा कार्यालय अध्यक्षज्यूको सिफारिस लिएर जाने वडा नं. ८ का नागरिक बिरामीहरूका लागि काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निम्न छुट सुविधा उपलब्ध गराउने भएको छः

ल्याब सेवा: १५% छुट सामान्य (Minor) चिकित्सकीय प्रक्रिया: १०% छुट जनरल बेड: ५०% छुट फार्मेसी सेवा: १०% छुट HDU / NICU / ICU / PICU सेवा: १०% छुट यस सहकार्यको मुख्य उद्देश्य गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का नागरिकलाई सुरक्षित, भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो। सम्झौताअनुसार काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र वडा कार्यालयको सहकार्यमा बेशिगाउँ शहरी स्वास्थ्य केन्द्रमा प्रत्येक हप्ताको बिहीबार बिहान ७:३० देखि ८:३० बजेसम्म भिडियो एक्स–रे सेवा सञ्चालन गरिनेछ। साथै, प्रत्येक महिनामा दुईपटक वडा कार्यालयको सहकार्यमा वडा कार्यालय परिसर तथा अन्य सार्वजनिक स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने व्यवस्था गरिएको छ। समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वासका साथ वडा अध्यक्ष नन्दलाल श्रेष्ठ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप शाह बीच सम्झौता पत्र आदान–प्रदान गरिएको हो।
