गोकर्णेश्वर–३ मा विद्यार्थीलाई विद्यालय पोशाक वितरण
Uncategorized

गोकर्णेश्वर–३ मा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Jan 10, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित श्री ग्राम सुधार आधारभूत विद्यालयमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सचिवालयद्वारा आयोजित विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

जाडो मौसमलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १५० जोर ट्र्याकसुट (न्यानो पोशाक) वितरण गरिएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख लामाले श्री ग्राम सुधार आधारभूत विद्यालयमा आवश्यक पूर्वाधार र सम्भावना रहेकाले कक्षा १० सम्म अध्ययन–अध्यापन सञ्चालन गर्न सकिने अवस्था रहेको बताउनुभयो।

तर हाल कक्षा ९ र १० का विद्यार्थीहरू अन्य विद्यालयमा स्थानान्तरण हुँदै आएका कारण विद्यालयलाई माध्यमिक तहमा विकास गर्न नसकिएको जानकारी गराउनुभयो।उहाँले संस्थागत विद्यालयसरह यस सामुदायिक विद्यालयमा पनि ईसीडी (ECD) कक्षा सञ्चालन भइरहेको उल्लेख गर्दै,

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति प्राप्त गरिरहेको र विदेशमा रहेरसमेत छात्रवृत्तिको अवसर पाएका उदाहरणहरू प्रस्तुत गर्नुभयो। कार्यक्रममा अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउनु मात्र पर्याप्त नभई दैनिक क्रियाकलाप, व्यवहार र शैक्षिक प्रगतिको नियमित अनुगमन गर्न आग्रह गरिएको थियो।

विशेष अतिथिहरूले विद्यालयमा विद्यार्थी संख्या बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी भर्ना अभियानमा अभिभावक, विद्यार्थी र शिक्षकहरूको सक्रिय सहयोग अपेक्षित रहेको बताए। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले नगरपालिकाले विद्यालयको शैक्षिक विकास र प्रगतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

अभिभावकको विश्वास र सहयोगबाट गुणस्तरीय पठनपाठनका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण भई शिक्षाका लागि यही विद्यालय रोजिने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष मुरारी प्रसाद कुइँखेलले वडा नम्बर ३ भित्र रहेका चारवटा सामुदायिक विद्यालयमध्ये तीनवटामा संस्थागत रूपमा जाडो पोशाक वितरण भइसकेको र यस विद्यालयमा नगरपालिकाबाट पोशाक वितरण भएसँगै वडाभित्रका चारै सामुदायिक विद्यालय बराबरीमा आएको जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानु पौडेलले जाडो मौसममा विद्यार्थीहरूले पोशाक र जुत्ता नलगाएर विद्यालय आएको देखिने गरेको उल्लेख गर्दै, न्यानो पोशाकले विद्यार्थीको उपस्थिती र पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो र नगरपालिकालाई धन्यवाद दिनुभयो।

कार्यक्रममा वडा सदस्य लक्ष्मी भण्डारी, बुद्धिबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अनिता बिष्टले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *