यूएईमा तामाङ समुदायद्वारा सोनाम ल्होछार कार्यक्रम आयोजना हुने

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका साथ तामाङ सोसाइटी अफ यूएईको आयोजनामा मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) को शुभ अवसरमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना हुन लागेको छ।
उक्त कार्यक्रम दरबार ज्वेलर्सको प्रायोजन, तथा Club SK7 र काष्ठमण्डप रेस्टुरेन्टको सहयोगमा तामाङ सोसाइटी अफ यूएईद्वारा आयोजना हुन लागेको हो। ल्होछार कार्यक्रममा तामाङ समुदायका ख्यातिप्राप्त तथा नवप्रतिभाशाली गायक–गायिकाहरूको सुमधुर स्वर र आकर्षक प्रस्तुति रहनेछ।

ल्होछार कार्यक्रममा विशेष रूपमा बैरागी मोक्तान, रामला पाख्रिन र प्रतिक मोक्तान लगायतका कलाकारहरूको प्रस्तुति रहने तय भएको छ। तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा यूएईमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदाय तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजक सुजन लामाले बताएअनुसार, हरेक वर्ष नयाँ प्रतिभा र नव चर्चित गायक–गायिकाहरूको प्रस्तुति हेर्ने अवसर प्राप्त हुन्छ र विदेशमा रहनुभएका दिदी–बहिनी तथा दाजुभाइबीच शुभकामना आदान–प्रदान गर्ने वातावरण सिर्जना गर्न यस कार्यक्रम महत्त्वपूर्ण भएको उनले बताए।

उक्त कार्यक्रम निम्न स्थान तथा मितिमा आयोजना हुने भएकोले आयोजकले सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्:
📍 शनिबार, २४ जनवरी २०२६ — Sudanese Social Club, Al Falah Street, Abu Dhabi
📍 आइतबार, २५ जनवरी २०२६ — Club SK7, Bur Dubai
