जय श्री भैरव बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ भैरवचौरस्थित जय श्री भैरव बचत तथा ऋण सहकारी संस्था लि. को १८औँ वार्षिक साधारणसभा (आ.व. २०८१/८२) बिहीबार सम्पन्न भएको छ। कार्यक्रमका सभापति संस्थाका अध्यक्ष नन्दराम महत रहनुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा प्रमुख अतिथिका रूपमा उपस्थित भई दीप प्रज्वलनमार्फत उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, निवर्तमान वडा अध्यक्ष कुमार श्रेष्ठ, आप्रवासी नेपाल मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन श्रीकण्ठ कुमार थापा ले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष प्रदीप प्रसाद सिग्देल ले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख सान्नानी लामाले गोकर्णेश्वर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूमा बचत गरेपछि त्यसको गतिविधि, आर्थिक अवस्था र पारदर्शिताबारे नियमित रूपमा जानकारी लिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो।

सहकारीमा जम्मा गरिएको रकम सुरक्षित छ कि छैन भन्ने विषयमा सेयरधनी तथा बचतकर्ताले स्वयं चासो राख्नुपर्ने उहाँको जोड थियो। सहकारीप्रति विश्वास कायम राख्न पारदर्शिता, इमानदार व्यवस्थापन र नियमित अनुगमन अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले जय श्री भैरव सहकारीले महिलाहरूमा बचत गर्ने बानीको विकास गराएको, महिलाहरूलाई सेयरधनी बनाउँदै आर्थिक रूपमा सशक्त बनाएको उल्लेख गर्नुभयो। साथै, सहकारीले सदस्यहरूको सहजताका लागि घर–घरमै पुगेर बचत संकलन गर्ने तथा आवश्यक परे बचत फिर्ता दिने व्यवस्था मिलाउँदै आएको जानकारी पनि दिइयो।

कार्यक्रममा विशेष अतिथि वडा अध्यक्ष जयराम महतले गोकर्णेश्वर नगरपालिका क्षेत्रमा ९०० भन्दा बढी सहकारी संस्थाहरू दर्ता रहेको जानकारी दिँदै तीमध्ये धेरैजसो सहकारीहरू विभिन्न समस्या देखिएपछि बन्द वा निष्क्रिय अवस्थामा पुगेको बताउनुभयो। यस्तो अवस्थामा केही सीमित सहकारी मात्र प्रभावकारी रूपमा सञ्चालन भइरहेका उल्लेख गर्दै सेवा प्रवाह, इमानदार व्यवस्थापन र पारदर्शिताका कारण जय श्री भैरव बचत तथा ऋण सहकारी संस्थालाई उदाहरणीय सहकारीका रूपमा लिन सकिने उहाँको भनाइ थियो।

त्यसैगरी आप्रवासी नेपाल मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले सहकारी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्नुभयो। सहकारी संस्था सन् १८४४ मा बेलायतबाट सुरु भएको र विश्वभर फैलिएको उल्लेख गर्दै डेन्मार्कमा सहकारी प्रणाली अत्यन्त मजबुत र प्रभावकारी रहेको उदाहरण प्रस्तुत गर्नुभयो। अमेरिकामा पनि सहकारी संस्था सञ्चालनमा रहे तापनि त्यहाँको संरचना फरक रहेको, ठूलो लगानीमार्फत अपार्टमेन्ट भाडा तथा किनबेच गर्ने अभ्यास रहेको र Federal Credit Union मा बचत गरेपछि मात्र ऋण सुविधा पाइने व्यवस्था रहेको जानकारी दिनुभयो। साथै, सहकारी संस्था दिवालिया भए पनि सरकारी संयन्त्रमार्फत सदस्यहरूको रकम सुरक्षित रहने प्रणाली रहेको कुरा पनि उल्लेख गर्नुभयो।

कार्यक्रमका सभापति नन्दराम महतले संस्थाको वार्षिक प्रतिवेदन तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष श्रीधर सिग्देलले आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा दैनिक बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचत, बाल बचत, मासिक नियमित बचत तथा असल ऋणकर्ताहरूलाई सम्मान गरिएको थियो।

यसै अवसरमा सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट नव–निर्वाचित सञ्चालक समिति तथा लेखा समिति का पदाधिकारीहरू निम्नानुसार चयन भएका छन्— सञ्चालक समिति अध्यक्ष: प्रदीप प्रसाद सिग्देल उपाध्यक्ष: श्रीकण्ठ कुमार थापा सचिव: श्रीधर सिग्देल कोषाध्यक्ष: तारा खड्का सदस्यहरू: प्रबिना थापा, सृजना खड्का लेखा समिति संयोजक: सुमेरु केसी
