ओख्रेनीमा कृषि, स्वास्थ्य र स्वरोजगार केन्द्रित तीनदिने तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं. १ ओख्रेनीस्थित गोकर्णेश्वर नगरपालिकाको महिला शाखाको आयोजनामा सञ्चालन गरिएको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी तीनदिने आधारभूत तरकारी खेती तालिम कार्यक्रम सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै स्वस्थ बजार व्यवस्थापन, स्वरोजगार प्रवर्द्धन र कृषि–सम्बन्धी तालिम अत्यन्तै महत्वपूर्ण विषय भएको बताउनुभयो।उहाँले यो कार्यक्रम केवल तालिम मात्र नभई जीवनशैली सुधार, आर्थिक आत्मनिर्भरता र स्थानीय विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो।

उपप्रमुख लामाले कृषि हाम्रो देशको मेरुदण्ड भएको बताउँदै परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि, बजारमुखी उत्पादन र व्यावसायिक सोचसँग जोड्न सकेमा कृषि नै समृद्धिको आधार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। आज प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नु नै तालिमको वास्तविक सफलता हुने उहाँको भनाइ थियो। साथै, आजको समय रोजगार खोज्ने होइन, रोजगारी सिर्जना गर्ने समय भएको उल्लेख गर्दै कृषि, पशुपालन, तरकारी खेती, मौरीपालन, च्याउ खेती, प्रशोधन उद्योग तथा स्थानीय उत्पादनको बजारीकरणमार्फत स्वरोजगार सिर्जना गर्न सकिने बताउनुभयो।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठले कृषि, स्वास्थ्य र स्वरोजगारसम्बन्धी तालिम स्थानीय बासिन्दाहरूका लागि अत्यन्त प्रभावकारी भएको बताउनुभयो। तालिममार्फत सहभागीहरूले बीउ रोप्ने सही तरिका, बढी उत्पादन दिने तरकारीको छनोट, माटो र मौसमअनुसार बाली चयन गर्ने विधि तथा रोग–कीरा नियन्त्रणका लागि औषधि प्रयोग गर्ने उपयुक्त समय र तरिका सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेको उहाँले जानकारी दिनुभयो।

यसै क्रममा प्रशिक्षार्थी शोभा थोकरले तीनदिने छोटो अवधिमै कृषि, स्वास्थ्य र स्वरोजगार सम्बन्धी धेरै नयाँ कुरा सिक्न पाएको बताउनुभयो। उहाँले यस्ता सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू कम्तीमा एक हप्ताको भए अझ प्रभावकारी हुने सुझाव पनि दिनुभयो।

यस अवसरमा जानकारी दिइएअनुसार, गोकर्णेश्वर नगरपालिका वडा नं. १ ओख्रेनीमा हाल पाँच वटा कृषक समूहले व्यवस्थित रूपमा कृषि व्यवसाय सुरु गरेका छन्। तीमध्ये सुन्दरी देवी कृषि तथा पशुपक्षी आमा समूह उल्लेखनीय रूपमा अगाडि बढिरहेको छ। उक्त समूहकी अध्यक्ष म्हेन्दो माया गोलेले करिब २०० रोपनी क्षेत्रफलमा तरकारी खेती सञ्चालन गर्दै आउनुभएको छ। उहाँले सुरुवाती चरणमा मकवानपुरबाट रु. १ लाख ऋण लिएर सोही स्थानमा लगानी गर्दै एक्लैले कृषि व्यवसाय सुरु गर्नुभएको जानकारी दिनुभयो।

अध्यक्ष गोलेका अनुसार, पाँच वर्षको अवधिमा करिब रु. २५ लाख बराबरको लगानी भइसकेको छ। हाल तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि लगानीसमेत क्रमशः बढाउँदै लगिएको उहाँको भनाइ छ। साथै, खेती सञ्चालनका लागि वार्षिक करिब रु. १२ लाख खेताला (कामदार) खर्च हुने गरेको उहाँले बताउनुभयो। उहाँले “यो ठाउँलाई परिवर्तन र विकास गर्छु” भन्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको पहलले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै व्यावसायिक कृषितर्फ अन्य किसानहरू पनि आकर्षित हुँदै गएको देखिन्छ।

उक्त तालिम कार्यक्रममा कृषि विषयमा इन्द्रकुमारी खड्का, स्वास्थ्य विषयमा शोभा श्रेष्ठ तथा स्वरोजगार विषयमा सुरेश रेग्मीले प्रशिक्षण दिनुभएको थियो। तालिममा स्वास्थ्य सम्बन्धी जानकारी, व्यवसायी कसरी बन्ने, स्वरोजगारका अवसरहरू तथा तरकारी खेतीसम्बन्धी व्यावहारिक (प्राक्टिकल) अभ्यास समेत गराइएको थियो। साथै, माटो परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको जानकारी पनि दिइयो। कार्यक्रममा स्थानीय कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
