जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध भवन पुनर्निर्माणपछि हस्तान्तरण
Uncategorized

जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध भवन पुनर्निर्माणपछि हस्तान्तरण

Dec 15, 2025

गत भदौ २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण सम्पन्न भई आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। प्रहरी वृत्त बौद्ध चौकी पुनर्निर्माण समितिद्वारा पुनर्निर्मित उक्त भवन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहका बीच उद्घाटन गर्नुभएको हो।

स्थानीय बौद्धबासीको पहलमा गोकर्णेश्वर नगरपालिका तथा विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा रकम संकलन गरी भवन पुनर्निर्माण गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नागरिकको पसिना, परिश्रम र समय खर्चेर पुनर्निर्माण सम्पन्न गरिएको उल्लेख गर्नुभयो। उहाँले पुनर्निर्मित प्रहरी वृत्तबाट प्रवाह हुने सेवा अझ उच्च गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नागरिकको सक्रिय सहभागिता अपेक्षित रहेको बताउनुभयो। साथै, नागरिक र प्रहरी सहकार्य र साझेदारीका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले राजनीतिक स्वार्थ वा कर्मचारीको हितका लागि प्रहरी परिचालन नहुने स्पष्ट पार्दै अपराध गर्ने जो–कोहीलाई पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिनुभयो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष कार्की, गोकर्णेश्वर नगर प्रमुख दीपक रिसाल तथा काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामा लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा भवन निर्माणमा करिब १ करोड रुपैयाँ खर्च लागेको जानकारी पुनर्निर्माण समितिका कोषाध्यक्ष सोनम लामाले दिनुभयो। साथै, भवन पुनर्निर्माणमा सहयोग पुर्‍याउने विभिन्न दाताहरूलाई प्रहरी वृत्त बौद्धद्वारा सम्मानसमेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *