चामुण्डा माविमा मौलिक हक र लागू औषध दुव्र्यसन रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न
Uncategorized

चामुण्डा माविमा मौलिक हक र लागू औषध दुव्र्यसन रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न

Dec 9, 2025

गोकर्णेश्वर नगरपालिका न्याय समितिको आयोजनामा मौलिक हक, बालबालिका ऐन र लागू औषध दुव्र्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम आज गोकर्णेश्वर नगरपालिका–६ स्थित चामुण्डा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रम नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो। सुरुवाती सत्रमा वडा नं.–१ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य केशव सिंखडाले स्वागत मन्तव्य राखेका थिए।

प्रमुख अतिथि गौलीले युवाहरूमा लागू औषधिले मस्तिष्क विकास, ध्यान केन्द्रित गर्ने क्षमता तथा निर्णय क्षमतामा गम्भीर असर पार्ने भएकाले सेवनबाट पूर्ण रूपमा टाढा रहन आग्रह गर्दै लागू औषधिले स्वास्थ्यसँगै शिक्षा, परिवार तथा भविष्यका अवसरहरूमा दीर्घकालीन जोखिम पुर्‍याउने उल्लेख गरे। उनले मौलिक हक, अधिकार र कर्तव्यबारेको ज्ञान युवाहरूलाई जिम्मेवार नागरिक बनाउन आवश्यक भएको पनि बताए।

कार्यक्रम अध्यक्ष उपप्रमुख लामाले मौलिक हक नागरिकको जीवनभर लागू हुने आधारभूत अधिकार भएको उल्लेख गर्दै बालअधिकार त्यसको अभिन्न अंग रहेको बताइन्। शिक्षा, स्वास्थ्य, संरक्षण र प्रतिभा विकासलाई बालअधिकारका मूल आधारका रूपमा व्याख्या गर्दै उनले बालबालिका राष्ट्रको वर्तमान र भविष्य दुवै भएकाले तिनको संरक्षण, सकारात्मक सिकाइ वातावरण र अनुशासनपूर्ण व्यवहार अत्यावश्यक रहेकोमा जोड दिइन्।

गलत साथी, सामाजिक दबाब र उत्सुकताका कारण युवाहरू लागू औषधतर्फ आकर्षित भइरहनु चिन्ताजनक भएको उल्लेख गर्दै उनले ‘soft drugs’ समेत दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी दिइन्। विद्यालयस्तरमै नियमित परामर्श, सचेतना र स्वस्थ वातावरण भएमा युवाहरू गलत बाटोबाट जोगिन सक्ने धारणा पनि उनले व्यक्त गरिन्।

विद्यालयका प्रधानाध्यापकका अनुसार सामाजिक शिक्षा विषयसँग सम्बन्धित भएकाले कार्यक्रममार्फत सिकाइको प्रभावकारिता बढाउन परीक्षा लिइने तथा त्यसका अंक नियमित शैक्षिक नतिजामा समावेश गरिनेछ। यसले विद्यार्थीमा मौलिक हक, बालअधिकार तथा लागू औषधका जोखिमबारे गहिरो बुझाइ विकास हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा अधिवक्ता गोपाल प्रसाद भण्डारीले बालबालिकाको मौलिक हक तथा बालबालिका ऐनसम्बन्धी कक्षा सञ्चालन गरे। साथै, बौद्ध वृत्त प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीले लागू औषधसम्बन्धी प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा शिक्षक–शिक्षिका, प्रहरी तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अनिता बिष्टले गरेकी थिइन्।

चामुण्डा माविमा मौलिक हक र लागू औषध दुव्र्यसन रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *