गोकर्णेश्वर–८ मा क्षयरोग नियन्त्रणका लागि खकार नमुना संकलन तथा परीक्षण सेवा

गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रद्वारा विभिन्न ठाउँ तथा गलैँचेतर्फबाट क्षयरोगसम्बन्धी खकार नमुना संकलन र परीक्षण कार्य
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रले क्षयरोग (TB) नियन्त्रण तथा प्रारम्भिक पहिचानलाई थप प्रभावकारी बनाउनका लागि वडा भित्रका विभिन्न टोल, बस्ती र गलैँचे क्षेत्रहरूमा पुगेर खकार नमुना सङ्कलन तथा परीक्षण सेवा सञ्चालन गरेको छ।
क्षयरोग जोखिमयुक्त मानिएको समुदायमा केन्द्रका स्वास्थ्यकर्मीहरूको टोली पुगेको थियो। दैनिक स्वास्थ्य सेवाबाट वञ्चित तथा परीक्षणमा आउन नसक्ने व्यक्तिहरूलाई लक्षित गर्दै यस कार्यक्रम अन्तर्गत घर–घर तथा टोल–टोलमै पुगेर शंकास्पद बिरामीहरूको खकार नमुना संकलन गरियो र GeneXpert तथा Microscopy विधिबाट निःशुल्क परीक्षण गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
कार्यक्रममार्फत फोक्सोमा समस्या, सामान्यभन्दा बढी खोकी, राति पसिना आउने, तौल घट्ने, रगत मिसिएको खकार आउने जस्ता लक्षण भएका व्यक्तिहरूलाई विशेष प्राथमिकताका साथ परीक्षणमा समेटिएको थियो।
बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रका अनुसार यस प्रकारको सामुदायिक पहुँच सेवाले क्षयरोगलाई प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्ने, समयमै उपचार सुरू गर्न सहयोग पुग्ने तथा समुदायमा TB फैलिन सक्ने जोखिम कम हुने विश्वास लिइएको छ।