गोकर्णेश्वर–४ हनुमानचोकमा ट्राफिक लाइट सञ्चालन


२४ मंसिर २०८२, मंगलवार – काठमाडौँ
गोकर्णेश्वर नगरपालिकाले अत्यधिक सवारी चाप र यातायात व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै गोकर्णेश्वर–४ स्थित हनुमानचोकमा पहिलोपटक आधुनिक ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहमा नगरप्रमुख दिपक रिसालले ट्राफिक लाइटको औपचारिक उद्घाटन गरेपछि सो क्षेत्र अबदेखि स्मार्ट सिग्नल प्रणालीद्वारा नियमन हुने भएको छ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जयराम महत, वडा सदस्यहरू कृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ, साथै ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रमुख तथा स्थानीयबासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले ट्राफिक लाइट स्थापनालाई सुरक्षित, व्यवस्थित र स्मार्ट यातायात व्यवस्थापनतर्फ उठाइएको महत्वपूर्ण कदम भनेर व्याख्या गरे।
उनका अनुसार नगरपालिकामा पछिल्लो समय तीव्र गतिमा बढिरहेको जनसङ्ख्या, सवारीको संख्या र चोकहरूमा हुने जामले ट्राफिक व्यवस्थापनलाई गम्भीर चुनौती दिँदै आएको थियो। सोही कारणले प्राथमिकताका आधारमा हनुमानचोकलाई पहिलो चरणको स्थानका रूपमा चयन गरिएको हो।
नगरपालिकाका जनप्रतिनिधिहरूले स्थानीय तहबाट स्मार्ट सिटी अवधारणालाई व्यवहारिक रूपमा अघि बढाउन आवश्यक पर्ने पूर्वाधारलाई विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आगामी दिनमा अन्य व्यस्त तथा संवेदनशील चोकहरूमा पनि आवश्यकता अनुसार ट्राफिक लाइट जडान गरिँदै जाने नगरपालिकाले जनाएको छ।
स्थानीयबासीहरूले ट्राफिक लाइट सञ्चालनमा आएपछि विद्यालयक्षेत्र, बजार क्षेत्र र कार्यालय समयको अत्यधिक जाममा सुधार आउने व्यक्त गरेका छन्।